Skip to content

प्रणाली बदल्ने वाचा गरेका नेतामाथि नै उठ्यो प्रश्न : संसद्मा किन हराइरहेका छन् प्रधानमन्त्री ?

काठमाडौं आकृति सुनार

नयाँ राजनीतिक विकल्पको आशा बोकेर सत्तामा पुगेका प्रधानमन्त्री बालेन्द्र साह अहिले आफ्नै कार्यशैलीका कारण आलोचनाको केन्द्रमा परेका छन्। निर्वाचनअघि “सिस्टम बदल्ने” नारासहित उदाएका साह प्रधानमन्त्री बनेको छोटो समयमै संसद् र सार्वजनिक उत्तरदायित्वबाट टाढिँदै गएको आरोप खेपिरहेका छन्।

प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्ने मुख्य कारण संसद्मा उनको कमजोर उपस्थितिलाई मानिएको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसद् हलबाट बीचमै बाहिरिएको घटनाले राजनीतिक वृत्तमा ठूलो चर्चा पायो। धेरैले यसलाई लोकतान्त्रिक संस्था र संसदीय मर्यादाप्रतिको बेवास्ताका रूपमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने प्रधानमन्त्री संसद्मा भने कम देखिन थालेपछि नागरिकहरूले प्रश्न गर्न थालेका छन् — “देश चलाउने मुख्य जिम्मेवारी सामाजिक सञ्जालबाट पूरा हुन्छ कि संसद्बाट ?”

प्रधानमन्त्री निकट स्रोतले स्वास्थ्य समस्याका कारण संसद्बाट बाहिरिनुपरेको दाबी गरे पनि त्यसबारे स्पष्ट र औपचारिक जानकारी नआउँदा सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ। केही समयमै सामाजिक सञ्जालमा गरिएको स्पष्टीकरण हटाइएपछि झन् अन्योल बढेको थियो।

यता संसद्मा नीति तथा कार्यक्रममाथिको बहसमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अपेक्षा गरिएको थियो। तर, उनको सट्टा अर्थमन्त्रीले सरकारको धारणा प्रस्तुत गरेपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री उत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाए।

यसबीच काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषय पनि संसद्मा चर्को रूपमा उठ्यो। मानवीय संवेदनासँग जोडिएको विषयमा समेत प्रधानमन्त्री मौन देखिनुले आलोचना थप बढाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार व्यवस्था परिवर्तनको नारा दिएर सत्तामा पुग्नु एउटा कुरा हो, तर लोकतान्त्रिक प्रणाली, संसद् र संस्थागत मर्यादालाई सम्मान गर्दै शासन चलाउनु अर्को ठूलो जिम्मेवारी हो।

अहिले जनतामाझ उठिरहेको मुख्य प्रश्न एउटै छ — “प्रणाली बदल्ने वाचा गरेका नेता स्वयं प्रणालीप्रति जिम्मेवार देखिन किन सकिरहेका छैनन् ?”

प्रतिक्रिया दिनुहोस्