काठमाण्डौं ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली को निजी निवासमा आयोजना हुने पार्टी कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन्।
यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक विशेष कारणले स्थगित भएपछि आजका लागि सारिएको हो। पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरूको कार्यविभाजन टुंगिन नसकेकाले बैठकको मुख्य केन्द्रबिन्दु सोही विषय बन्ने बताइएको छ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई स्थानीय तह केन्द्रित जिम्मेवारी दिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। प्रत्येक केन्द्रीय सदस्यलाई कम्तीमा एक पालिकाको इन्चार्ज बनाउने योजना अनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियान अघि बढाइनेछ।
त्यसैगरी पार्टीका विभिन्न विभाग, जनसंगठन तथा अन्य संरचनामा नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ।
बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा पनि प्राथमिकतामा रहनेछ। निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे विस्तृत समीक्षा गर्न केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाउने मिति तय गर्ने जिम्मेवारी समेत सचिवालय बैठकले लिने सम्भावना छ।
यसबाहेक मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारद्वारा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन, तथा सरकारका हालका गतिविधिप्रति जनस्तरमा देखिएको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्