Skip to content

पोखराको सहकारी ठगी प्रकरणमा रास्वपा नेता बोधराज रेग्मी फरार, २६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं आकृति सुनार ।

पोखरा स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बहुचर्चित रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट नेता बोधराज रेग्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीको अनुमति पश्चात प्रहरीले रेग्मीसहित २६ जनालाई अनुसन्धानको दायरामा ल्याएको हो।

कास्की प्रहरीका अनुसार सहकारीबाट लिएको ऋण लामो समयसम्म नतिर्ने तथा पटक–पटकको ताकेतापछि पनि सम्पर्कमा नआउने व्यक्तिहरूमाथि अनुसन्धान तीव्र बनाइएको छ। पक्राउ पुर्जी जारी भएपछि रास्वपा स्याङ्जासँग आबद्ध रेग्मी सम्पर्कविहीन भएका छन्।

रेग्मी सांसद धनञ्जय रेग्मीका स्वकीय सचिवका रूपमा समेत कार्यरत रहेका छन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा–१ बाट उम्मेदवार बनेका थिए।

सहकारी रजिस्ट्रार कार्यालयको प्रारम्भिक छानबिनले संस्थामा २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको देखाएको थियो। बचतकर्ताहरूले रकम फिर्ताको माग गर्दै उजुरी दिएपछि २०८० सालदेखि नै सहकारीका पदाधिकारी र ऋणकर्तामाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पक्राउ परिसकेका छन्। यस्तै पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सञ्चारकर्मी अर्जुन गिरी, उपाध्यक्ष विजय लम्साल र कानुनी सल्लाहकार जनकल्याण पराजुलीमाथि पनि अनुसन्धान जारी छ।

सहकारी ठगी प्रकरणमा संलग्न थप व्यक्तिको खोजी तथा आर्थिक कारोबारको विवरण संकलन कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्