काठमाडौं आकृति सुनार ।
सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकता दिँदै छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख ३० गतेको निर्णयपछि कार्य विभाजन नियमावली संशोधन गर्दै नयाँ मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो।
हाल मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहेका छन्। सरकारले विज्ञान र प्रविधिलाई राष्ट्रिय विकास र आधुनिकिकरणसँग जोड्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।
नयाँ मन्त्रालयले वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान, खगोल विज्ञान, जैविक प्रविधि, पारमाणविक प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नीति निर्माण र नियमन गर्नेछ। साथै आणविक ऊर्जाको सुरक्षित प्रयोग र अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी काम पनि यही मन्त्रालयले हेर्नेछ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालय जस्ता संस्थाहरू अब यस मन्त्रालयअन्तर्गत रहने भएका छन्।
सरकारले ‘इन्डस्ट्री ४.०’ र ‘इन्डस्ट्री ५.०’ जस्ता आधुनिक औद्योगिक अवधारणालाई प्रवर्द्धन गर्दै प्रविधिमैत्री नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। मन्त्रालय स्थापना भएपछि अनुसन्धान, आविष्कार र प्रविधि विकासमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्