काठमाडौं आकृति सुनार ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ। यो जानकारी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको हो।
प्रतिवेदन अनुसार सरकारले आर्थिक ऐनको व्यवस्था अनुसार विभिन्न क्षेत्रलाई भन्सार छुट दिएको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो छुट ७९ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।
यस वर्ष साफ्टा सुविधा अन्तर्गत मात्रै ५ अर्ब ७१ करोड रुपैयाँ भन्सार महसुल छुट दिइएको छ। त्यस्तै विभिन्न आयोजना, सरकारी निकाय र निर्माण व्यवसायीलाई ६ अर्ब १२ करोड रुपैयाँ बराबरको छुट प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले कर छुट सम्बन्धी अभिलेख व्यवस्थित रूपमा नराखिएको भन्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा अपारदर्शी रूपमा दिइने महसुल छुटका कारण सरकारी राजस्व परिचालन प्रभावित भएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्