Skip to content

कांग्रेसले जेठ २१ भित्र क्रियाशील सदस्यता अद्यावधिक सक्ने

काठमाडौं आकृति सुनार ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम आगामी २१ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले जेठ २१ गतेभित्र सदस्यता वितरण, नवीकरण तथा अद्यावधिकको सम्पूर्ण प्रक्रिया सक्ने लक्ष्य तय गरेको हो।

महामन्त्री पौडेलका अनुसार पार्टीले सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीसँग जोड्दै देशकै बलियो सदस्य नेटवर्क बनाउने तयारी गरेको छ। यसका लागि प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

पार्टीले सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराएको छ। अनलाइन प्रक्रिया प्रयोग गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरेर एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

त्यस्तै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका नम्बर ९७१२०५६३५१ र ९७१२०५६३५२ मार्फत पनि सदस्यहरूले आवश्यक सहयोग प्राप्त गर्न सक्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

फोनमार्फत नै प्रश्नावलीको उत्तर दिएर सदस्यता अद्यावधिक फारम भर्न सकिने सुविधा समेत सुरु गरिएको कांग्रेसले जनाएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि अनलाइन आवेदन प्रणाली उपलब्ध गराइएको छ।

कांग्रेसले समयमै सदस्यता अद्यावधिक नगर्ने र पार्टी परिचयपत्र नलिने व्यक्तिहरूले १५ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।

पार्टीले आगामी असोज महिनामा १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्