काठमाडौं आकृति सुनार ।
हर्क साम्पाङ ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
साम्पाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसदप्रति सरकारको जवाफदेहिता कमजोर हुँदै गएको टिप्पणी गरेका हुन्। उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसदमा निरन्तर उपस्थित नदेखिनु, सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ नदिनु तथा अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको बताएका छन्।
उनले संसदलाई लोकतन्त्रको प्रमुख थलो भएको उल्लेख गर्दै जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूप्रति सम्मान हुनुपर्ने धारणा राखेका छन्। “संसदको गरिमा जोगाउनु सरकारको पहिलो दायित्व हो,” विज्ञप्तिमा उल्लेख छ।
साम्पाङले सरकार जनताको आधारभूत समस्या समाधानभन्दा राजनीतिक व्यवस्थापनमा बढी केन्द्रित भएको आरोप समेत लगाएका छन्। उनले सीमा सुरक्षा, रोजगारी, गरिबी न्यूनीकरण तथा जनजीविकासँग सम्बन्धित विषयमा सरकार प्रभावकारी बन्नुपर्ने बताएका छन्।
यस्तै, उनले संसदलाई पर्याप्त छलफलको अवसर नदिई अध्यादेशको बाटो अपनाउनु संसदीय अभ्यासको मर्म विपरीत हुने टिप्पणी गरे।
हालसम्म प्रधानमन्त्री कार्यालयबाट साम्पाङको अभिव्यक्तिप्रति औपचारिक प्रतिक्रिया आएको छैन।
प्रतिक्रिया दिनुहोस्