Skip to content

कोशी सरकारको नेतृत्वमा कांग्रेस–एमालेबीच रस्साकस्सी

काठमाडौं आकृति सुनार ।

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संवाद तीव्र बनेको छ। दुवै दलले सरकारको नेतृत्व आफूले गर्नुपर्ने दाबी गरेका छन्।

प्रदेश सरकारहरूको नेतृत्वबारे छलफल गर्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डू पुगेका थिए। करिब तीन घण्टा भएको छलफलमा कोशी प्रदेश सरकार नेतृत्व मुख्य एजेन्डा बनेको बताइएको छ।

छलफलका क्रममा कांग्रेस उपसभापति शर्माले पूर्वसहमति अनुसार अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने अडान राखेका थिए। उनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए।

तर एमाले अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई परिवर्तन गर्ने भए पनि एमालेबाटै अर्को नेता अघि सार्ने प्रस्ताव गरेका थिए। उनले कांग्रेसलाई त्यसमा सहयोग गर्न आग्रह गरेको एमाले स्रोतले जनाएको छ।

कांग्रेस नेताहरूका अनुसार २०८१ भदौमा कांग्रेस सरकारमा सहभागी हुँदा मुख्यमन्त्री आलोपालो गर्ने ‘भद्र सहमति’ भएको थियो। सोही सहमतिअनुसार अब नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी कांग्रेसको छ।

हाल कोशी प्रदेशमा एमाले सचिव हिक्मत कार्की नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ। कांग्रेसले चार मन्त्रालय सम्हालिरहेको छ।

यसैबीच, एमालेभित्र भने हिक्मत कार्कीको विकल्प खोज्ने तयारी भइरहेको बताइएको छ। एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने तयारी गरेका छन्।

प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे दुवै दलबीच छलफल जारी रहे पनि अहिलेसम्म कुनै ठोस सहमति भने भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्