काठमाडौं आकृति सुनार ।
घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
नेकपा (एमाले) बाट निर्वाचित घिमिरेलाई रास्वपाले जिल्ला संगठन विभागको सदस्य पदको जिम्मेवारी समेत दिएको छ। वैशाख २८ गते रास्वपाका जिल्ला सभापति विजय घिमिरेले उनलाई उक्त जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको हो।
यसअघि एमाले दाङ जिल्ला कमिटीले पार्टी महासचिव शंकर पोखरेलविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै घिमिरेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।
एमालेले उक्त निर्णयबारे घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीलाई जानकारी गराएको थियो। पार्टीको निर्णय निर्वाचन आयोगसम्म पुगे पनि पदमुक्तिको प्रक्रिया अझै पूरा नभएको बताइएको छ।
यद्यपि एमालेबाट औपचारिक रूपमा पदमुक्तिको पत्र नआउँदै रास्वपाले घिमिरेलाई पार्टी जिम्मेवारी दिएको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित घिमिरे पछिल्लो समय खुलेरै रास्वपाको पक्षमा सक्रिय देखिँदै आएका थिए। उनले सामाजिक सञ्जालमार्फत एमाले त्यागेको घोषणा समेत गरेका थिए।
यसअघि पनि एमालेले घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो।
प्रतिक्रिया दिनुहोस्