काठमाडौं आकृति सुनार ।
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
सरकारले जारी गरेको नयाँ अध्यादेशपछि विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
यसअघि त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले राजीनामा दिएका थिए। त्यस्तै शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको थियो।
उक्त रिक्तता पूर्ति गर्दै विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिन बज्राचार्यलाई जिम्मेवारी दिइएको जनाइएको छ।
यसैबीच, नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ भने आवेदन मागसमेत गरिएको छ। आवेदन दिन इच्छुकलाई १० दिनको समय दिइएको छ।
नयाँ उपकुलपति चयन नभएसम्म प्रा. डा. बज्राचार्यले निमित्त उपकुलपतिका रूपमा कार्यभार सम्हाल्नेछन्।
प्रतिक्रिया दिनुहोस्