काठमाडौं आकृति सुनार ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाव’ मा लेखिएको टिप्पणी गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य अव्यावहारिक रहेको दाबी गरे।
सांसद कर्णले उक्त लक्ष्य हासिल गर्न कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको बताए।
उनले सरकारले ठूला लक्ष्य घोषणा गर्ने तर विकास खर्च गर्न नसक्ने पुरानो प्रवृत्ति दोहोरिएको टिप्पणी गरे। पारदर्शिता र जवाफदेहिताका लागि प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन खर्चको विवरण संसदमा पेश गर्नुपर्ने सुझाव पनि दिए।
कर्णले प्रधानमन्त्रीको कार्यशैलीमाथि समेत प्रश्न उठाउँदै सांसदहरूले प्रधानमन्त्रीलाई सहज रूपमा भेट्न नपाउने अवस्था लोकतान्त्रिक प्रणालीअनुकूल नभएको बताए।
त्यसैगरी उनले सहकारी संकट समाधानका लागि सरकारले ल्याएको योजना दीर्घकालमा घातक हुन सक्ने चेतावनी दिए। सरकारले गठन गरेको कोष पीडितमैत्री देखिए पनि त्यसले दीर्घकालीन असर पार्न सक्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्