Skip to content

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र : भुवनबहादुर सुनार

काठमाडौं आकृति सुनार ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले मुलुकको अर्थतन्त्रलाई कुन दिशातर्फ लैजान खोजेको हो भन्ने स्पष्ट नदेखिएको बताए।

सांसद सुनारले आगामी पाँच वर्षसम्मको स्पष्ट मार्गचित्र नीति तथा कार्यक्रममा समेटिनुपर्ने भए पनि त्यसको अभाव रहेको उल्लेख गरे। उनले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भए पनि समग्र कार्यक्रमले नागरिकमा उत्साह पैदा गर्न नसकेको धारणा राखे।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतको भन्दा पनि कमजोर रहेको दाबी गर्दै जनताको तहसम्म पुग्ने ठोस योजना नदेखिएको बताए।

सुनारले आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट पनि यही नीति तथा कार्यक्रमकै वरिपरि सीमित हुने टिप्पणी गरे।

उनले प्रस्तुत कार्यक्रमले उत्पीडित समुदायमा आशा जगाउन नसकेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र बनेको बताए।

प्रतिक्रिया दिनुहोस्