Skip to content

वास्तविक सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने तयारी

काठमाडौं आकृति सुनार ।

सरकारले वास्तविक सुकुम्बासी परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले लालपुर्जा वितरण नहुँदासम्म अस्थायी व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने योजना अघि बढाइएको जानकारी दिएका हुन्।

समिति सभापति हरि ढकाल का अनुसार शहरी विकास मन्त्रालयले आवश्यक स्रोत व्यवस्थापन गरिसकेको छ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ प्रक्रिया सञ्चालन भइरहेको छ। प्रक्रिया पूरा भएपछि फास्ट ट्रयाकमार्फत लालपुर्जा वितरण गरिने सरकारको तयारी छ।

सरकारले होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि विद्यालय बस तथा सुत्केरी महिलाका लागि पोषण व्यवस्थासमेत मिलाइएको जनाएको छ। समितिले सरकारी दाबीको यथार्थ बुझ्न छिट्टै स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्