Skip to content

एमाले सचिवालय बैठक शनिबार, अध्यक्ष ओली लामो समयपछि सहभागी हुँदै

काठमाण्डौं ।

नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी गरिएको छ । पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठकको औपचारिक सूचना जारी हुन बाँकी रहे पनि शनिबार बस्ने लगभग तय भइसकेको छ । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बैठकको स्थान भने अझै निश्चित नभएको उनले बताएका छन् ।

चुनावपछिको अवधिमा ओली पहिलो पटक सचिवालय बैठकमा सहभागी हुन लागेका हुन् । गत चैत १३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते रिहा भएका थिए । त्यसयता स्वास्थ्य समस्याका कारण उनी सक्रिय पार्टी काममा फर्किएका थिएनन् ।

ओली हिरासतमा रहेका बेला पार्टीले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । उनकै अध्यक्षतामा यसअघि दुई पटक सचिवालय बैठक सम्पन्न भइसकेको छ । पछिल्लो समय एमालेभित्र नेतृत्व र शक्ति सन्तुलनलाई लिएर आन्तरिक विवाद बढिरहेको छ ।

उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङतथा महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टीको भावी नेतृत्वबारे छलफल तीव्र बनाएको चर्चा भइरहेको छ ।

निर्वाचन समीक्षासमेत हुन नसकेको अवस्थामा सचिवालय बैठक बस्न लागेकाले एमालेभित्र देखिएको राजनीतिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्