Skip to content

विश्वकप २०२६ का लागि न्युजिल्यान्डको २६ सदस्यीय टोली सार्वजनिक

काठमाण्डौं ।

फिफा विश्वकप २०२६ का लागि न्युजिल्यान्डले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि बिहीबार टोली सार्वजनिक गरिएको हो ।

यसपटक न्युजिल्यान्डले ओसियाना क्षेत्रको छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै सिधै विश्वकपमा स्थान सुरक्षित गरेको हो । यसअघि टोलीले प्रायः प्लेअफमार्फत विश्वकप पुग्ने गरेको थियो ।

न्युजिल्यान्ड ‘समूह जी’ मा परेको छ, जहाँ उसले बेल्जियम, इजिप्ट र इरानसँग प्रतिस्पर्धा गर्नेछ । टोलीमा अनुभवी फरवार्ड क्रिस उडसहित युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ ।

गोलकिपरमा म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन र माइकल वाउड रहेका छन् । डिफेन्स लाइनमा टेलर बिनडन, माइकल बोक्सल, टिम पाएने र टोमी स्मितजस्ता खेलाडी समावेश छन् ।

मिडफिल्डमा मार्को स्टामेनिक, राएन थोमस र एलेक्स रुफर प्रमुख खेलाडीका रूपमा रहेका छन् भने आक्रमण पंक्तिमा क्रिस उड, कोस्टा बारबारोउसेस, सर्प्रित सिंह र बेन वाएनले टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

विश्वकपअघि न्युजिल्यान्डले केही मैत्रीपूर्ण खेलमार्फत टोली संयोजनलाई थप मजबुत बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्