काठमाण्डौं ।
भारतका विभिन्न राज्यहरूमा चरम मौसमका कारण जनजीवन प्रभावित भएको छ। उत्तर प्रदेशमा बुधबार आएको शक्तिशाली हावाहुरी र आँधीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रयागराज, अयोध्यासहित ३० जिल्लामा आएको आँधीका कारण सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६ जनाले ज्यान गुमाएका छन्। केही स्थानमा प्रतिघण्टा ८० किलोमिटरको गतिमा हावा चलेको बताइएको छ। बरेलीमा एक युवक हावासँगै जस्तापाताले उडाएको घटना पनि सार्वजनिक भएको छ।
उत्तर प्रदेशको बांदा सहरमा तापक्रम ४५।४ डिग्री सेल्सियस पुगेको छ। मौसम विभागले बिहीबार ५१ जिल्लामा तीव्र हावाहुरी र वर्षाको चेतावनी जारी गरेको छ।
यता, राजस्थानमा लगातार बढ्दो गर्मीका कारण जनजीवन कष्टकर बनेको छ। जैसलमेर बुधबार लगातार चौथो दिन देशकै सबैभन्दा तातो सहर बनेको छ, जहाँ तापक्रम ४६।१ डिग्री सेल्सियस मापन गरिएको छ। मौसम विभागले बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा ‘रेड अलर्ट’ जारी गर्दै अत्यधिक गर्मी र लुबाट सतर्क रहन आग्रह गरेको छ।
मध्य प्रदेशका २५ भन्दा बढी जिल्लामा पनि हिटवेभ जारी छ। खजुराहोमा तापक्रम ४५।४ डिग्री सेल्सियस पुगेको छ भने इन्दौर, उज्जैन, धार र रतलाममा ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ।
हरियाणामा पछिल्लो २४ घण्टामा तापक्रम १।२ डिग्री सेल्सियसले बढेको छ। नारनौलमा सबैभन्दा बढी ४२।५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
यसैबीच बिहारका केही जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ भने उत्तराखण्डका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्