Skip to content

संसद बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीमाथि आक्रामक

काठमाडौं आकृति सुनार |

प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको भन्दै प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बहिष्कार गरेका छन्। बैठक बहिष्कार गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीविरुद्ध लगातार टिप्पणी गरिरहेका छन्।

साम्पाङले संसदमै प्रधानमन्त्रीको राजीनामा माग्दै ‘असक्षम प्रधानमन्त्री चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै ‘संसदमा सम्बोधन नगर्ने प्रधानमन्त्री हुन्छ?’ भनेर प्रश्नसमेत उठाए।

श्रम संस्कृति पार्टीका सांसदहरू बैठकबाट बाहिरिएपछि पनि संसदमा केहीबेर विपक्षी दल र रास्वपाबीच जुहारी चलेको थियो। बैठक अघि बढ्न नसकेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

त्यसपछि पुनः बसेको बैठकमा साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू उपस्थित भएनन्। यता साम्पाङले फेसबुकमा ‘प्रधानमन्त्रीले संसदलाई बेवास्ता गर्नु भनेको जनतालाई हेप्नु हो’ भन्दै आलोचना जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्