Skip to content

अख्तियार प्रमुखलाई धम्की दिन करोडौंको चलखेल भएको दाबी, तीन जनाविरुद्ध मुद्दा

काठमाडौं  आकृति सुनार |

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको प्रकरणमा नयाँ खुलासा भएको छ। पक्राउ परेका प्रकाश पाठकले बयानका क्रममा आफूलाई आर्थिक प्रलोभन देखाएर धम्की दिन लगाइएको बताएका छन्।

सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार प्रकाश पाठक, प्रदीप अधिकारी र ताराप्रसाद खरेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विभिन्न कसुरअन्तर्गत मुद्दा दायर गरेको हो। अभियोगपत्रअनुसार पाठकले नेपाली दुई करोड रुपैयाँ बराबरको ८० लाख फिलिपिन्स पेसो प्राप्त गरेको बताएका छन्।

प्रहरी अनुसन्धानअनुसार अख्तियारमा चलिरहेको भ्रष्टाचार सम्बन्धी मुद्दामा प्रभाव पार्ने उद्देश्यले प्रदीप अधिकारीले पाठकलाई प्रयोग गरेको आशंका गरिएको छ। बयानमा पाठकले आफूलाई अख्तियार प्रमुखलाई धम्की दिन उक्साइएको र त्यसका लागि रकम उपलब्ध गराइएको बताएका छन्।

पाठकका अनुसार प्राप्त रकम हुण्डीमार्फत फिलिपिन्स पठाइएको थियो। उनले उक्त रकमबाट फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको तथा अन्य खर्चहरू गरेको बयान दिएका छन्। अपार्टमेन्ट भने अझै आफ्नो नाममा हस्तान्तरण हुने प्रक्रियामा रहेको उनको भनाइ छ।

यता प्रदीप अधिकारीले भने प्रकाश पाठकसँग कुनै चिनजान नरहेको दाबी गरेका छन्। प्रहरीले हुण्डी कारोबार र सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

हाल प्रकाश पाठकविरुद्ध आपराधिक षड्यन्त्र, हुण्डी कारोबार, संगठित अपराध, विद्युतीय कारोबार ऐन लगायत ६ वटा कसुरमा मुद्दा दर्ता भएको छ। प्रदीप अधिकारीविरुद्ध पनि समान प्रकृतिका मुद्दा दायर गरिएको छ। उनी हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्