Skip to content

इरानमाथि सम्भावित सैन्य कारबाहीबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल

काठमाडौं आकृति सुनार ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सम्भावित सैन्य कारबाहीबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार इरानसँग जारी कूटनीतिक प्रयासमा प्रगति नभएपछि ट्रम्पले वरिष्ठ सुरक्षा अधिकारीहरूसँग आगामी रणनीतिबारे परामर्श गरेका हुन्। छलफलमा इरानमाथि सैन्य दबाब बढाउने विकल्पसमेत उठाइएको जनाइएको छ।

ट्रम्पले पछिल्ला दिनहरूमा कूटनीतिक पहल असफल भए इरानका महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्न सकिने चेतावनी सार्वजनिक रूपमा दिँदै आएका छन्।

अमेरिकाले युद्ध अन्त्य र इरानको आणविक कार्यक्रम सीमित गर्ने उद्देश्यसहित १४ बुँदे समझदारी प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा इरानले १० दिनपछि आफ्नो धारणा पठाए पनि ट्रम्प प्रशासन त्यसप्रति सन्तुष्ट नरहेको बताइएको छ।

प्रस्तावित समझदारीमा ३० दिनसम्म विस्तृत वार्ता गर्ने, स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने तथा इरानमाथिको प्रतिबन्ध क्रमशः हटाउने विषय समेटिएको थियो।

वार्ताको सबैभन्दा जटिल विषय इरानको आणविक कार्यक्रम बनेको छ। अमेरिकाले लामो समयसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अडान राखेको छ भने इरान सीमित अवधिका लागि मात्र त्यस्तो प्रतिबद्धता जनाउन तयार रहेको बताइएको छ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका निरीक्षकलाई आकस्मिक निरीक्षणको अनुमति दिनुपर्ने र विस्तारित निगरानी प्रणाली लागू गर्नुपर्ने अमेरिकी प्रस्ताव पनि छलफलको केन्द्रमा रहेको छ।

यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध क्रमिक रूपमा हटाउने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रस्ताव गरेको छ। तर इरानले प्रतिबन्ध तत्काल हटाउनुपर्ने र आफ्ना सम्पत्ति शीघ्र फुकुवा गर्नुपर्ने माग राख्दै आएको छ।

इरानको पछिल्लो प्रस्तावप्रति ट्रम्प प्रशासन सकारात्मक नदेखिएपछि दुई देशबीचको तनाव थप बढ्ने संकेत देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्