काठमाण्डौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डूमा खिचिएको एउटा तस्बिर यतिबेला राजनीतिक वृत्तमा व्यापक चर्चामा छ। एमाले नेता अब्दुस मियाँले सार्वजनिक गरेको तस्बिरमा अध्यक्ष ओली सधैं बस्ने कुर्सीमा मियाँ बसेका छन् भने ओली छेउतिर देखिएका छन्।
मियाँका अनुसार तस्बिर खिचाउने क्रममा अध्यक्ष ओलीले नै उनलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए। “बाबु, त्यो कुर्सीमा बस,” भन्दै ओलीले आसन साटफेर गराएको उनले बताएका छन्।
एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला आएको यो दृश्यलाई धेरैले प्रतीकात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय युवा नेतृत्वको चर्चा बढिरहेका बेला सांसद सुहाङ नेम्वाङको नाम पनि पार्टीभित्र भविष्यको नेतृत्वका रूपमा चर्चामा आउन थालेको छ।
इलाम–२ उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुगेका सुहाङ नेम्वाङलाई एमालेभित्र उदाउँदो युवा नेताका रूपमा हेरिँदै आएको छ। पार्टीमा पुस्तान्तरण, नयाँ अनुहार र युवालाई अवसर दिनुपर्ने बहससँगै उनको सक्रियता पनि चर्चामा रहेको छ।
स्वास्थ्य समस्यापछि केही समय सार्वजनिक गतिविधिबाट टाढिएका अध्यक्ष ओलीले पछिल्ला दिनमा नेताहरूसँग भेटघाट बढाएका छन्। यही क्रममा सार्वजनिक भएको तस्बिरले एमालेभित्र आगामी नेतृत्व, वाम समीकरण र नयाँ राजनीतिक संकेतबारे थप बहस सुरु गराएको छ।
प्रतिक्रिया दिनुहोस्