Skip to content

अमेरिकी नाकाबन्दीपछि संकटमा इरान, अतिरिक्त तेल समुद्रमै फाल्न थालेको दाबी

काठमाडौँ आकृति सुनार

अमेरिका र इजरायलसँगको तनाव चर्किरहेका बेला इरान गम्भीर तेल संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी नौसेनाले होर्मुज जलडमरू र प्रमुख निर्यात मार्गमा कडा नाकाबन्दी लगाएपछि इरानको तेल निर्यात लगभग ठप्प भएको बताइएको छ।

दैनिक ३० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्दै आएको इरानले भण्डारण क्षमता भरिएपछि अतिरिक्त तेल समुद्रमा विसर्जन गर्न थालेको उपग्रह तस्बिरहरूले संकेत गरेका छन्। विशेषगरी खार्ग टापुस्थित मुख्य तेल टर्मिनल र तटीय भण्डारण केन्द्र पूर्ण रूपमा भरिएपछि अवस्था जटिल बनेको बताइएको छ।

विश्लेषकहरूका अनुसार तेल उत्पादन पूर्ण रूपमा बन्द गर्दा भूमिगत भण्डारमा दीर्घकालीन क्षति पुग्न सक्ने भएकाले इरान उत्पादन रोक्न नसक्ने अवस्थामा पुगेको हो। यही कारण अतिरिक्त तेल समुद्रमा फालिएको आशंका गरिएको छ।

युरोपेली अन्तरिक्ष एजेन्सीको सेन्टिनेल उपग्रहबाट प्राप्त तस्बिरमा फारसी खाडी र होर्मुज क्षेत्र वरपर ठूलो परिमाणमा तेल फैलिएको देखिएको छ। तेल चुहावटका कारण समुद्री जीवजन्तु, कोरल चट्टान र समुद्री वातावरणमा गम्भीर असर परेको वैज्ञानिकहरूले बताएका छन्।

यसैबीच, नाकाबन्दीका बाबजुद इरानले गोप्य रूपमा तेल बिक्री जारी राखेको दाबी गरिएको छ। अमेरिकी गुप्तचर निकायका अनुसार केही ट्याङ्करमार्फत समुद्रमै तेल स्थानान्तरण गरी चीनतर्फ पठाइएको आशंका गरिएको छ।

विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने क्षेत्रमै तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य समेत प्रभावित हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्