काठमाडौँ ।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ भने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु हुनेछ । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी तथा विभिन्न कार्यसूची प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा नियमावलीसम्बन्धी प्रस्ताव, बाधा अड्काउ फुकाउ अनुमोदन तथा सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि संसद्मा पेश हुनेछन् । राष्ट्रियसभामा समेत ती अध्यादेश टेबल गरिनेछ ।
संयुक्त बैठकमा सहभागी हुन संसद् सचिवालयले सांसदहरूलाई निर्धारित समयअघि नै उपस्थित हुन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्