काठमाडौँ ।
टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएपछि केही समयका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
टर्कीको इस्तानबुलबाट काठमाडौँ आएको टिके–७२६ नम्बरको विमान शुक्रबार बिहान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिँदा चक्कामा आगो लागेको थियो। घटनापछि बिहान ६ः४५ बजेदेखि विमानस्थलको उडान तथा अवतरण सेवा रोकिएको थियो।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो। बिहान ८ः३० बजे एयर इन्डियाको विमान अवतरण गरेको थियो भने त्यसपछि फ्लाइ दुबईसहित अन्य उडानहरू पनि नियमित हुन थालेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीपछि विमानलाई रनवेमै रोकेर आपतकालीन ढोकाबाट यात्रु तथा चालक दलका सदस्यहरूको सुरक्षित उद्धार गरिएको उनले बताए।
उक्त विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य सवार रहेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्