पोखरा उमा आले ।
पर्यटकीय सहर पोखरामा लामो समयदेखि अलपत्र परेको बसपार्क निर्माण योजना फेरि चर्चामा आएको छ। करिब पाँच दशकअघि पृथ्वीचोक क्षेत्रमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा छुट्याइएको भए पनि काम अघि नबढ्दा अहिले त्यो क्षेत्र खुम्चिएर करिब ४७ रोपनीमा सीमित भएको छ।
उक्त जग्गामा हाल ४०० भन्दा बढी भूमिहीन तथा सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। बसपार्क निर्माण नहुँदा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त बन्दै गएको छ, जहाँ सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारी सञ्चालन भइरहेका छन्, जसले ट्राफिक जामलाई झनै जटिल बनाएको छ।
यसैबीच, पोखरा महानगरपालिका ले वैशाख ३ गते बसेको कार्यपालिका बैठकपछि अतिक्रमित संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ।
तर, बसपार्क क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी समुदायले व्यवस्थापन विना आफूहरूलाई हटाउन नहुने स्पष्ट पारेका छन्। स्थानीय रुपा केसीका अनुसार, “हामी विकासको विरोधी होइनौं, तर पहिले उचित पुनर्वासको व्यवस्था गरियोस्, त्यसपछि मात्रै हामी स्थान छोड्न तयार छौं।”
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले महानगरको निर्णयले सुकुम्बासीहरूमा चिन्ता बढाएको बताए। उनले हाल बसोबास गरिरहेको क्षेत्रमै वा नजिकै पुनर्वासको व्यवस्था गर्नुपर्ने माग अघि सारे।
त्यसैगरी मजदुर नेता रुद्र गौतमले भने, यदि बसपार्क निर्माणका लागि छुट्याइएको सम्पूर्ण २०५ रोपनी जग्गा खाली गरिएमा आफूहरूले सरकारलाई सहयोग गर्ने बताए। उनले विगतमा पहुँचका आधारमा जग्गा किनबेच भएको भन्दै वास्तविक सुकुम्बासीलाई दोषी देखाउनु अन्याय भएको उल्लेख गरे।
यसरी, पोखरामा बसपार्क निर्माण र सुकुम्बासी व्यवस्थापनको विषय अहिले संवेदनशील बन्दै गएको छ, जहाँ विकास र मानव अधिकारबीच सन्तुलन खोज्नु चुनौतीपूर्ण देखिएको छ।
प्रतिक्रिया दिनुहोस्