Skip to content

“अपराधीलाई छुट छैन, इमान्दारलाई डर छैन” — अर्थमन्त्री वाग्ले

काठमाडौं, १८ वैशाख ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले ‘लुटतन्त्र’ अन्त्य गर्दै कडा सुशासन लागू गर्ने स्पष्ट संकेत दिनुभएको छ। निजी क्षेत्रबाट विरोध भइरहेका बेला उहाँले अपराध गर्ने जोसुकैलाई पनि कारबाहीबाट नछोडिने चेतावनी दिनुभएको हो।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नीतिगत कब्जा तोड्ने र राज्य संयन्त्रलाई पारदर्शी बनाउने अभियान सुरु भइसकेको बताउनुभयो। उहाँका अनुसार सुशासनलाई म्याक्रो (नीतिगत सुधार) र माइक्रो (सेवा प्रवाह सुधार) दुई तहमा कार्यान्वयन गरिँदैछ। सरकारले सेवा प्रणालीलाई डिजिटल बनाउँदै लाइन बस्न नपर्ने, घुस नखुवाउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ।

निजी क्षेत्रका केही व्यवसायी पक्राउ परेपछि देखिएको असन्तुष्टिप्रति प्रतिक्रिया दिँदै मन्त्री वाग्लेले भन्नुभयो,“अपराधीमाथि कारबाही हुँदा मनोबल खस्कियो भन्न मिल्दैन।” उहाँले इमान्दार व्यवसायीलाई डराउनु नपर्ने भन्दै सरकारको कदम अनुशासन र पारदर्शितातर्फ केन्द्रित रहेको दाबी गर्नुभयो।

यसैबीच, राजस्व अनुसन्धान विभागमाथि प्रश्न उठाउँदै सरकारले उक्त निकाय खारेज गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिनुभयो। साथै, डिजिटल प्रणालीमार्फत सेवा सहज बनाउने र सीमा नाकामा हुने झन्झट हटाउने काम समेत सुरु भइसकेको छ।

सरकार गठन भएको छोटो समयमै सुधारका थुप्रै पहल सुरु गरिएको भन्दै मन्त्री वाग्लेले आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिक राखिएको दोहोर्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्