काठमाडौं उमा आले ।
नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति सन्तुलन फेरि एकपटक सतहमा देखिएको छ। प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम तयारीमा पुगिसकेको अवस्थामा अकस्मात स्थगित हुनु पार्टीभित्र गहिरिँदो असहमतिको संकेतका रूपमा हेरिएको छ।
निर्वाचन तालिका सार्वजनिक भइसकेको र मतदानसमेत आजै गर्ने तयारी हुँदाहुँदै प्रक्रिया रोकिनु केवल प्राविधिक निर्णय नभई नेताहरूबीचको शक्ति संघर्षको परिणाम मानिएको छ। विशेषतः गगनकुमार थापा र विश्वप्रकाश शर्मा बीचको मतभेदले सहमतिको सम्भावना कमजोर बनाएको देखिन्छ।
सभापति थापाले रसुवाबाट निर्वाचित मोहन आचार्य लाई अघि सार्दा, उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बे लाई समर्थन गरेका छन्। यसले पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिएको छ।
यति मात्रै होइन, वरिष्ठ नेता अर्जुननरसिंह केसी ले समेत सहमति नभए आफू चुनावी मैदानमा उत्रिने संकेत दिँदै प्रतिस्पर्धालाई अझ जटिल बनाएका छन्।
सहमति खोज्ने प्रयासस्वरूप सात सदस्यीय समिति गठन गरिएको छ, तर हालसम्म ठोस निष्कर्ष ननिस्कँदा प्रक्रिया अनिश्चित बनेको छ। नयाँ मिति नतोकिएको अवस्थामा यो स्थगनले कांग्रेसभित्रको नेतृत्व चयन केवल प्रक्रियागत नभई शक्ति सन्तुलनको खेल बनेको स्पष्ट संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि सहमति जुट्न सकेन भने आगामी दिनमा कांग्रेसभित्र खुला प्रतिस्पर्धा मात्र होइन, गुटीय ध्रुवीकरण अझ चर्किने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्