पोखरा उमा आले ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे विशेष “स्वीप अप्रेसन”मा १२२ जनालाई नियन्त्रणमा लिइएको छ। लागूऔषध कारोबार तथा सेवन, सार्वजनिक अशान्ति, टोले गुण्डागर्दी र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न उक्त अप्रेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ वैशाख ९ गते राति ९ बजेदेखि १० गते बिहान ६ बजेसम्म कास्की जिल्लाभर एकैपटक अप्रेसन चलाइएको थियो। अप्रेसनमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट करिब १०० जना प्रहरी परिचालन गरिएको थियो।
यस क्रममा पोखरा महानगरपालिकाका विभिन्न वडा तथा स्थानहरूबाट ठूलो संख्यामा व्यक्तिहरू नियन्त्रणमा लिइएका छन्। लेकसाइड–ड्यामसाइड क्षेत्रबाट मात्रै ३५ जना पक्राउ परेका छन् भने पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना नियन्त्रणमा लिइएको छ।
त्यस्तै, एयरपोर्ट, फुलवारी र रामबजार क्षेत्रबाट १५ जना, भण्डारढिक र सैनिक बस्ती क्षेत्रबाट १२ जना, महेन्द्रपुल र बाग्लुङ बसपार्क आसपासबाट ९ जना तथा अन्य विभिन्न स्थानहरूबाट समेत मानिसहरू पक्राउ परेका प्रहरीले जनाएको छ।
माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाबाट समेत केही व्यक्तिहरू नियन्त्रणमा लिइएको जनाइएको छ।
कास्की प्रहरीले यस्ता स्वीप अप्रेसनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदै लागूऔषध, होहल्ला, गुण्डागर्दी तथा सामाजिक अशान्ति फैलाउने गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्