काठमाडौं, उमा आले।
आज देशभर २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ सालको जनआन्दोलनपछि पुनःस्थापित लोकतन्त्रले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको भए पनि, दुई दशकपछि पनि जनताका अपेक्षा पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्।
वैशाख ११ लाई नेपाली जनताले निरंकुश राजतन्त्रमाथि विजय हासिल गरेको ऐतिहासिक दिनका रूपमा सम्झिन्छन्। सोही दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गर्दै जनताको अधिकार फिर्ता गरेका थिए। त्यसयता देशमा संविधान निर्माणदेखि संघीय शासन प्रणाली कार्यान्वयनसम्मका महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।
तर लोकतन्त्रको यात्रा केवल राजनीतिक परिवर्तनमा सीमित नभई जनजीवनमा देखिनुपर्ने सुधारतर्फ भने अझै प्रश्न उठ्ने गरेका छन्।
राजनीतिक अस्थिरता, सरकार गठन–विघटनको श्रृंखला, भ्रष्टाचारका प्रकरण र सुशासनको अभावले लोकतन्त्रप्रतिको जनविश्वासमा बेला–बेला धक्का पुग्ने गरेको छ।
विशेषगरी युवापुस्तामा रोजगारीको अभाव, बढ्दो विदेश पलायन र अवसरको कमीले “लोकतन्त्रले के दियो रु” भन्ने प्रश्न उठ्न थालेको छ। लोकतन्त्र आएपछि अधिकार त प्राप्त भए, तर त्यसको प्रत्यक्ष लाभ आम जनतासम्म पुग्न नसकेको गुनासो व्यापक छ।
राजनीतिक विश्लेषकहरूका अनुसार लोकतन्त्रको वास्तविक सफलता चुनाव मात्र नभई नागरिकको जीवनस्तर सुधारमा मापन गर्नुपर्ने हुन्छ। त्यस हिसाबले हेर्दा अझै धेरै काम बाँकी रहेको उनीहरूको भनाइ छ।
यस दिनलाई केवल उत्सवको रूपमा मनाउनेभन्दा पनि विगतका उपलब्धिको समीक्षा गर्दै वर्तमान कमजोरी सुधार्ने अवसरका रूपमा लिनुपर्ने आवाज उठ्दै आएको छ।
लोकतन्त्रले दिएको अधिकारलाई संस्थागत गर्दै जनतामा देखिएको निराशा हटाउन सकिएमा मात्र वैशाख ११ को ऐतिहासिक महत्व व्यवहारमा झल्किनेछ।
प्रतिक्रिया दिनुहोस्