Skip to content

पोखरामा फुटपाथ अतिक्रमणविरुद्ध कडा अभियान, सडक अनुशासनमा जोड

पोखरा – उमा आले

पर्यटकीय सहर पोखरा मा फुटपाथ अतिक्रमण नियन्त्रण गर्न कडा अभियान सञ्चालन गरिएको छ। पैदलयात्री र पर्यटकलाई सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले सडकपेटीमा फैलिएको अव्यवस्थित व्यापार हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, नगरप्रहरी तथा पर्यटन व्यवसायीसहितको संयुक्त टोलीले लेकसाइड क्षेत्रमा अनुगमन तीव्र बनाएको छ। अनुगमनका क्रममा फुटपाथ ओगटेर गरिएको व्यापार, जथाभावी पार्किङ तथा सडकपेटी ढाक्ने संरचना हटाइएको छ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष गुरुप्रसाद बरालका अनुसार पछिल्लो समय लेकसाइड क्षेत्रमा फुटपाथ अतिक्रमणसँगै अन्य अवाञ्छित गतिविधि बढ्दै गएकाले नियन्त्रण अभियानलाई प्राथमिकता दिइएको हो।

अभियान अन्तर्गत व्यवसायी तथा सर्वसाधारणलाई सार्वजनिक स्थलको प्रयोगमा अनुशासन कायम गर्न सचेत गराइएको छ। नियम उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

स्थानीय प्रशासनले शहरी सौन्दर्य कायम राख्न, पर्यटकीय छवि जोगाउन र सुरक्षित आवागमन सुनिश्चित गर्न यस्तो अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्