Skip to content

वाम एकताको आह्वानमार्फत शक्ति सन्तुलन खोज्दै प्रचण्ड

काठमाडौं- उमा आले

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच एकताको आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नयाँ शक्ति सन्तुलनको संकेत दिएका छन्।

कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी सन्देशमार्फत उनले विभाजित वाम शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको बताएका हुन्। पछिल्लो समय देशको राजनीतिक ध्रुवीकरण बढिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्तिलाई नयाँ रणनीतिक सन्देशका रूपमा हेरिएको छ।

उनले समाजमा विद्यमान असमानता र विभेद अन्त्यका लागि वामपन्थी शक्ति एकजुट हुनुपर्ने उल्लेख गर्दै जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन्।

प्रचण्डले विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै गरिब, किसान र श्रमजीवी वर्गको पक्षमा राजनीतिक दिशा अघि बढाउनुपर्ने दायित्व अझ बढेको उल्लेख गरेका छन्।

त्यस्तै उनले शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन समान विचारधाराका शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेकोमा जोड दिएका छन्।

विश्लेषकहरूका अनुसार प्रचण्डको यो अभिव्यक्ति आगामी राजनीतिक समीकरण र वाम पुनर्गठनको सम्भावनासँग जोडिएको संकेत हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्