पोखरा —उमा आले
कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–८ जाल्पारोड क्षेत्रमा सञ्चालनमा रहेका खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा छापा मार्दा घटना बाहिर आएको हो।
प्रहरीले अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई राम्रो तलब र बसोबासको प्रलोभन देखाएर होटलमा काम लगाउने र पछि जबरजस्ती ग्राहकसँग रात बिताउन बाध्य पार्ने गरिएको फेला पारेको जनाएको छ। उक्त स्थानबाट दुई बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न चार जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ। कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा मोरङ, सिन्धुली, कास्की तथा भारत बिहार स्थायी ठेगाना भएका व्यक्तिहरू रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्