सुधन गुरुङको सम्पत्ति सार्वजनिक: धनकुटादेखि गोरखासम्म सयौं रोपनी जग्गा, शेयरमा ४ करोड बढी लगानी
गृहमन्त्री सुधन गुरुङ को नाममा विभिन्न जिल्लामा रहेको जग्गा तथा शेयर लगानी विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार, गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगर क्षेत्रमा ३० कठ्ठा जग्गा रहेको छ भने बाजे रामसल गुरुङको नाममा गोरखाको चुननुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको जनाइएको छ। उक्त जग्गा हालसम्म बाँडफाँट नभएको बताइएको छ।
गृहमन्त्री गुरुङको शेयर बजारमा पनि उल्लेख्य लगानी रहेको देखिन्छ। विवरण अनुसार, उनले विभिन्न कम्पनीहरूमा गरी करिब ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको लगानी गरेका छन्।
जसमा होप होल्डिङ्स प्रा.लि.मा ३० हजार शेयर (करिब ३० लाख रुपैयाँ), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रा.लि.मा ५,७०० शेयर (करिब ५७ लाख रुपैयाँ), एड्भेन्चर भिल्ला प्रा.लि.मा ७० हजार शेयर (करिब ७० लाख रुपैयाँ) तथा धितोपत्र बजारमा कारोबार हुने शेयरमा २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरिएको छ।
सार्वजनिक गरिएको विवरणमा गुरुङको सम्पत्तिको स्रोत व्यवसायिक आम्दानी तथा पैतृक दुवै रहेको जनाइएको छ। यस विवरणले उनको आर्थिक स्थिति, लगानीको क्षेत्र र पारिवारिक सम्पत्तिको अवस्थालाई स्पष्ट रूपमा देखाएको छ।
प्रतिक्रिया दिनुहोस्