Skip to content

राष्ट्रिय टोलीकी कप्तान ‘साम्बा’ उपचार खर्च जुटाउँदै, सहयोग अपिल, एन्फाप्रति असन्तुष्टि

पाेखरा, काशी राम सुनार।

नेपाली महिला फुटबल टोलीकी कप्तान तथा अन्तर्राष्ट्रिय खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर घुँडा चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जनाउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीका अनुसार यसअघि गरिएको एसीएल (ACL) शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (MCL) दुवैमा गम्भीर समस्या देखिएको छ । चिकित्सकले पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन् । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

एन्फा प्रति असन्तुष्टि

भण्डारीले अघिल्लो चोटका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग पाएको स्मरण गराउँदै यसपटक भने वाचा अनुरूप सहयोग नपाएको गुनासो गरेकी छन् ।

उनका अनुसार क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिए पनि एन्फाले आफ्नै तर्फबाट प्रक्रिया अघि बढाउने बताएपछि पूर्वतयारी रोकिएको थियो । तर पछि एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिइएको र नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने मात्र प्रस्ताव आएको उनले उल्लेख गरेकी छन् ।

“यसअघि चालेको प्रक्रिया रोकियो, झन्डै दुई महिनापछि फेरि शल्यक्रियाको मिति लिनुपर्ने अवस्था आयो,” उनले भनिन् ।

एन्फाभित्र आफू क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क उठाइएकोप्रति पनि उनले निराशा व्यक्त गरेकी छन् । भण्डारीले देशका लागि सधैं शतप्रतिशत योगदान दिएको र भविष्यमा पनि राष्ट्रिय टोलीका लागि खेल्न तत्पर रहेको बताएकी छन् ।

सरकारप्रति पनि गुनासो

भण्डारी विदेशमा रहेकाले नेपाल सरकारसमक्ष प्रतिनिधित्वमार्फत सहयोगको प्रयास भए पनि सरकारी प्रक्रिया अपेक्षित गतिमा अघि नबढेको बताइएको छ । खेलाडीको उपचार जस्तो संवेदनशील विषयमा सरकारी संयन्त्र सुस्त देखिएको भन्दै खेल क्षेत्रका जानकारहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय टोलीकी कप्तान, अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी खेलाडीले नै उपचारका लागि सार्वजनिक रूपमा सहयोग माग्नुपर्ने अवस्था आउनु राज्यको खेल नीतिप्रति प्रश्न उठाउने विषय भएको टिप्पणी गरिएको छ ।

क्लबको सहयोग, तर रकम अपुग

हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको बताएको छ । साथै बीमाबाट प्राप्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तर उक्त रकम शल्यक्रिया र लामो पुनःस्थापनाका लागि पर्याप्त नहुने भएपछि उनले आम समर्थकसमक्ष सहयोगको अपिल गरेकी हुन् ।

सहयोगको अपिल

भण्डारीले नेपालमा रहेका समर्थकलाई सार्वजनिक गरिएको क्यूआर कोड वा बैंक खातामार्फत सहयोग गर्न आग्रह गरेकी छन् भने विदेशमा रहेका समर्थकलाई अनलाइन प्लेटफर्ममार्फत सहयोग गर्न अनुरोध गरेकी छन् ।

“थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” उनले दृढता व्यक्त गरेकी छन् ।

नेपाली महिला फुटबलको सफल यात्रामा महत्वपूर्ण भूमिका खेलेकी भण्डारीको उपचारका लागि आवश्यक सहयोग जुट्ने अपेक्षा गरिएको छ । खेलाडीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिने दीर्घकालीन संरचना निर्माण गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्