Skip to content

संसदमा कांग्रेसको प्रश्नः ‘हामी विधिको शासन चलाउँदै छौं कि हुकुमी राज ?

काठमाण्डौं

नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रतिनिधिसभामा विधिको शासन र सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाएका छन्। शुक्रबारको बैठकको सुरुमै बोल्दै उनले “हामी विधिको शासन चलाउँदै छौं कि सिंहदरबारबाट कुनै अदृश्य गिरोहको हुकुमी राज जन्माउँदैछौंरु” भन्दै सरकारप्रति प्रश्न गरेका हुन्।

सांसद बुढाले प्रधानमन्त्री कार्यालयले मानवअधिकार आयोगका पदाधिकारीलाई नौ घण्टा दबाबमा राखेको तथा विशेष व्यक्ति पक्राउका लागि दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि मात्र नभई एक विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुव्र्यवहार भएको आरोप सार्वजनिक भएको बताए।

उनले अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिए। कानुनभन्दा कोही माथि नहुने उल्लेख गर्दै सांसद बुढाले लोकतान्त्रिक व्यवस्थामा परिणाम मात्र होइन, विधि र प्रक्रिया पनि अनिवार्य रूपमा पालना हुनुपर्ने बताए। उनले सरकारको कार्यशैलीप्रति लोकतन्त्र, प्रक्रिया र विधिमा विश्वास गर्नेहरू समेत आश्चर्यचकित भएको टिप्पणी गरे।

सांसद बुढाले अख्तियार प्रधानमन्त्री कार्यालय मातहतको निकाय नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले यस विषय बुझ्नुपर्ने हो कि होइन भन्दै प्रश्न समेत उठाए।

प्रतिक्रिया दिनुहोस्