Skip to content

मन्त्रीहरूले संसदीय मर्यादा उल्लंघन गरेको आरोप, एमालेद्वारा सभामुखसँग रुलिङको माग

काठमाण्डौं ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महर ले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र प्रतिनिधिसभाको नियमावली उल्लंघन गरेको भन्दै सभामुखसँग रुलिङको माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले संसदको गरिमा र मर्यादा कायम राख्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गरे। उनले मन्त्रीहरूको व्यवहारले संसदको मर्यादामाथि प्रश्न उठाएको भन्दै त्यसतर्फ सभामुखको ध्यानाकर्षण गराए।

महरका अनुसार सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला मन्त्रीहरू बैठक कक्षको अगाडिबाट आवतजावत गर्नु प्रतिनिधिसभा नियमावलीको भावना र संसदीय अभ्यासविपरीत हो। यस्तो गतिविधिले संसदको गरिमामा असर पर्ने उनको भनाइ थियो।

उनले सरकारका मन्त्रीहरू अझ जिम्मेवार बन्नुपर्ने र संसदीय मूल्य–मान्यता तथा प्रतिनिधिसभाको मर्यादा कायम राख्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, यस्ता घटनाहरू दोहोरिन नदिन सभामुखबाट स्पष्ट रुलिङ जारी गर्न पनि उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्