पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जेष्ठ महिनामा सम्पन्न विभिन्न अपराध अनुसन्धान, नियन्त्रण तथा प्रहरी गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार सो अवधिमा कुल २३० वटा मुद्दा दर्ता भएका छन् भने १७४ जना प्रतिवादी पक्राउ परेका छन्। जघन्य तथा गम्भीर अपराध २४, महिला–बालबालिका सम्बन्धी १२, आर्थिक अपराध ९१ र अन्य अपराध १०३ वटा दर्ता भएका छन्।
अपराध नियन्त्रण र अनुसन्धान
फैसला कार्यान्वयनतर्फ ७० जना फरार प्रतिवादी पक्राउ परेका छन् भने १६ वर्ष ५ महिना १९ दिन कैद सजाय र करिब १ करोड ७ लाख रुपैयाँभन्दा बढी बिगो असुल गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणमा १६ मुद्दा दर्ता भई २२ जना पक्राउ परेका छन्। यस क्रममा ब्राउनसुगर, ट्यापेन्टाडोल ट्याबलेट, गाँजा तथा अन्य लागूऔषध ठूलो परिमाणमा बरामद गरिएको छ।
आत्महत्या र हराएका व्यक्तिहरू
जेष्ठ महिनामा १९ वटा आत्महत्या घटना दर्ता भएका छन्। हराएका ७९ जनामध्ये ५४ जना फेला पारिएको विवरण छ।
सवारी दुर्घटना
सवारी दुर्घटनातर्फ १५ वटा घटना भएका छन् जसमा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण तीव्र गति, मापसे र सवारी अनुमति नभएको अवस्थालाई देखाइएको छ।
अन्य प्रमुख गतिविधि
३७ लिटर अवैध मदिरा नष्ट
१५ सवारी साधन प्राकृतिक सम्पदा दोहनमा नियन्त्रण
११४८ वटा फुटपाथ पार्किङ कारवाही
३७७१ जनालाई समुदाय केन्द्रित सुरक्षा तथा सचेतना कार्यक्रम
८११५ वटा नागरिक हेल्पलाइन कल व्यवस्थापन
प्रहरीले अपराध न्यूनीकरणका लागि विद्यालय, समुदाय तथा स्थानीय तहसँग समन्वय गर्दै साइबर अपराध, लागुऔषध, सडक सुरक्षा र लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।
कास्की प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण र शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्