Skip to content

देउवा दम्पतीको स्पष्टिकरणः ‘हामी भागेका होइनौं, साउन २८ भित्र फर्केर अनुसन्धानमा सहयोग गर्छौं’

काठमाण्डौँ

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आफूहरू देश छाडेर फरार नभएको स्पष्ट गर्दै आगामी साउन २८ गतेभित्र नेपाल फर्केर सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

देउवा दम्पतीले जेठ २८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै हाल स्वास्थ्य उपचारका कारण विदेशमा रहेको जानकारी दिएका हुन्। विभागका महानिर्देशकलाई सम्बोधन गरिएको चार पृष्ठको पत्रमा उनीहरूले अनुसन्धानबाट बच्न वा प्रक्रिया प्रभावित पार्न कुनै उद्देश्य नरहेको उल्लेख गरेका छन्।

उनीहरूले आफूहरूविरुद्ध भागेको वा अनुसन्धानबाट टाढा रहेको जस्तो सन्देश प्रवाह गरी पक्राउ पुर्जी जारी गर्ने वा नेपाल फर्कँदा समस्या सिर्जना हुने अवस्था नबनाइदिन विभागसँग आग्रह गरेका छन्।

पत्रमा देउवा दम्पतीले सार्वजनिक जीवनमा लामो समय जिम्मेवार राजनीतिक भूमिकामा रहेकाले कानुनी प्रक्रियाबाट नभाग्ने र खुला तथा निष्पक्ष अनुसन्धानमार्फत आफ्नो निर्दोषिता प्रमाणित गर्न तयार रहेको बताएका छन्। प्राविधिक आधारमा अनुसन्धान रोक्ने प्रयासभन्दा कानुनसम्मत प्रक्रियामार्फत सत्य स्थापित गर्न चाहेको उनीहरूको भनाइ छ।

हाल उनीहरू कुन देशमा छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। गत फागुन १३ गते सिंगापुर गएका देउवा दम्पती त्यसपछि हङकङमा समेत देखिएको जानकारी सार्वजनिक भए पनि त्यसपछिको बसाइबारे आधिकारिक विवरण उपलब्ध छैन।

पत्राचारमा उनीहरूले सर्वोच्च अदालतबाट जेठ ११ गते आफूहरूमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी भइसकेको विषय पनि स्मरण गराएका छन्। कानुनी व्यवसायीमार्फत ठोस प्रमाणबिनै विदेशमा रहेको आधारमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको सूचना पाएपछि विभागलाई पत्र पठाउनुपरेको उल्लेख गरिएको छ।

गत असोजमा परेको उजुरीपछि अनुसन्धान टोली गठन भए पनि आफूहरू विदेश जानुअघि विभागबाट उपस्थित हुन कुनै औपचारिक सूचना नपाएको देउवा दम्पतीको दाबी छ। साथै, आफ्नो क्षतिग्रस्त निवासमा गरिएको खानतलासीका क्रममा कुनै बहुमूल्य वस्तु वा नगद फेला नपरेको मुचुल्काले पुष्टि गरेको भन्दै उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

देउवा दम्पतीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक निकायबाट समेत आफूहरूमाथि कुनै छानबिन नभएको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्