Skip to content

रास्वपाको प्रथम महाधिवेशन अब भरतपुरमा, स्थल परिवर्तन

काठमाण्डौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि होटल स्टार मा आयोजना गर्ने तय गरिएको महाधिवेशन अब चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन हुने भएको छ। पार्टीका अनुसार महाधिवेशन आगामी असार ७ गतेदेखि ९ गतेसम्म भरतपुरमा आयोजना हुनेछ। महाधिवेशनको तयारीलाई तीव्रता दिइएको र आवश्यक व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेको जनाइएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम का अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाहरूका लागि सौराहा, रत्ननगर र भरतपुर का विभिन्न होटलहरूमा आवासको व्यवस्था मिलाइएको छ।

महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र भव्य बनाउन पार्टीले व्यापक तयारी गरिरहेको जनाएको छ। यसका लागि स्थानीय, जिल्ला र नगर समितिसहित सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी तयारीका कामहरू अघि बढाइएको केन्द्रीय सदस्य गौतमले जानकारी दिएका छन्।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्