काठमाण्डौं ।
संखुवासभा जिल्ला कारागार भित्र दुई कैदीको हत्या भएको घटनामा संलग्न ठहरिएका ७ जना प्रहरी र ८ जना कैदीबन्दीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत संखुवासभा का न्यायाधीश राजकुमार कोइराला को इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ ९१०० बमोजिम दोषी ठहर भएका १५ जनालाई जन्मकैदको फैसला गरेको हो। अदालतले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ।
यो घटना २०८० साउन २४ गते कारागारभित्र भएको थियो। विनोद तोलांगी र आकाश बलामी माथि कारागारभित्र सामूहिक कुटपिट गरिएको थियो। कुटपिटकै क्रममा दुवै जनाको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानअनुसार दुवैले शौचालयको झ्यालको रड काटेर भाग्ने प्रयास गरेको आशंकामा सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए। त्यसपछि प्रहरी र अन्य कैदीबन्दीबाट पालैपालो कुटपिट हुँदा उनीहरूको ज्यान गएको निष्कर्ष निकालिएको थियो।
घटनापछि पक्राउ परेका सुरक्षाकर्मी र कैदीबन्दीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अभियोग लागेका प्रहरीलाई धनकुटा कारागार तथा संलग्न कैदीबन्दीलाई तेह्रथुम कारागार मा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो।
अदालतले घटनाका बेला कारागार सुरक्षामा खटिएका असई लक्ष्मी चौधरीसहित ७ जना प्रहरी कर्मचारीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ। साथै कारागारका तत्कालीन चौकीदार, बडानाइके, सहनाइके तथा अन्य कैदीबन्दीसहित थप ८ जनालाई पनि सोही सजाय सुनाइएको अदालतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्