काठमाण्डौं ।
नेपाली कांग्रेसकी सांसद बासना थापा ले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भन्ने सुनिल लम्साल को अभिव्यक्ति कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएकी छन्। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति को बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रिया अनुसार कारबाही गर्न सकिने उल्लेख गरिन्। आवश्यक परे कालोसूचीमा राख्ने, ठेक्का सम्झौताअनुसार कारबाही गर्ने वा अन्य कानुनी उपाय अवलम्बन गर्न सकिने भए पनि भौतिक कारबाहीको भाषा स्वीकार्य नहुने उनको भनाइ थियो।
सांसद थापाले उक्त विषयमा मन्त्रीसँग प्रत्यक्ष जवाफ माग्न चाहेको भए पनि बैठकमा मन्त्री उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गरिन्। समितिको बैठक मन्त्रीको उपस्थितिमै सञ्चालन हुनुपर्ने भन्दै उनले सम्बन्धित विषयमा प्रभावकारी छलफलका लागि मन्त्रीको सहभागिता आवश्यक रहेको बताइन्।
उनले प्रतिपक्षको भूमिका अवरोध सिर्जना गर्नु नभई सुशासन, जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्नु रहेको स्पष्ट पारिन्। नयाँ सोच र शैलीका नाममा नीति, नियम तथा स्थापित प्रक्रियालाई बेवास्ता गर्न नहुनेमा पनि उनले जोड दिइन्।
बैठकमा सांसद थापाले कर्णाली प्रदेश का सडक आयोजनाको अवस्थाबारे पनि चासो व्यक्त गरिन्। सडक निर्माण, इन्जिनियरिङ मूल्यांकन तथा स्वीकृति प्रक्रियामा देखिएका कमजोरीबारे प्रश्न उठाउँदै उनले कतिपय सडक निर्माण सम्पन्न भइसके पनि अझै ‘रोड परमिट’ प्राप्त हुन नसकेको बताइन्।
निर्माण सम्पन्न भएका आयोजनाको मूल्यांकन र आवश्यक स्वीकृति प्रक्रिया समयमै पूरा नहुँदा सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा समेत प्रश्न उठ्ने उनले उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस्