Skip to content

दुवै सदनको बैठक आजः प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ

काठमाण्डौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छन्। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजना हुनेछ। आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटसँग सम्बन्धित छलफल र विधायिकीय प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले दुवै सदनका बैठक बोलाइएको हो।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ माथि सैद्धान्तिक तथा मन्त्रालयगत छलफल सुरु गरिनेछ। विभिन्न मन्त्रालयका बजेट शीर्षकलाई समूहीकृत गरी सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ।

आजको छलफलमा युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बजेट शीर्षक समेटिनेछन्।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र लैंगिक तथा यौनिक अल्पसंख्यकसँग सम्बन्धित कार्यक्रम तथा बजेटमाथि पनि आजै छलफल हुने कार्यसूची रहेको छ।

उता, राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइनेछ। बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले सांसदहरूले बजेटमाथि उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ।

अर्थमन्त्रीको जवाफपछि राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल समापन हुने र विनियोजन विधेयकका अन्य प्रक्रियागत पक्षमाथिको छलफल अगाडि बढ्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्