Skip to content

नेपाल–भारत–बंगलादेश त्रिपक्षीय सहकार्यको सम्भावना उच्च, ऊर्जा र कूटनीतिमा जोड

काठमाण्डौं ।

नेपाली ऊर्जा तथा आर्थिक विज्ञहरूले नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको बताएका छन्। उनीहरूले ऊर्जा, व्यापार र कनेक्टिभिटीलाई केन्द्रमा राखेर क्षेत्रीय विकासलाई तीव्र बनाउन सकिने धारणा व्यक्त गरेका हुन्।

बंगलादेशमा आयोजित आर्थिक कूटनीति सम्मेलनमा सहभागी हुँदै नेपाल फाउन्डेसनका विज्ञ तथा ऊर्जाविद् विवेकराज कँडेल ले दक्षिण एसियामा अब देशहरू एक्लै अघि बढ्न नसक्ने भन्दै साझा आर्थिक सहकार्य अपरिहार्य भएको बताए।

उनका अनुसार नेपालमा उत्पादन हुने स्वच्छ जलविद्युत ऊर्जा बंगलादेशको औद्योगिक विकासका लागि महत्वपूर्ण स्रोत बन्न सक्छ भने भारत ले ट्रान्जिट र पूर्वाधारमार्फत ठूलो आर्थिक लाभ लिन सक्छ।

कँडेलले त्रिपक्षीय सहकार्यलाई परोपकारभन्दा पनि “विन–विन” आर्थिक मोडेलमा आधारित हुनुपर्नेमा जोड दिए। उनले ऊर्जा क्षेत्रलाई सबैभन्दा बलियो आधार मान्दै यसले तीनै देशलाई प्रत्यक्ष आर्थिक फाइदा पुर्‍याउने बताए।

ऊर्जाबाहेक पर्यटन र कनेक्टिभिटीलाई पनि महत्वपूर्ण क्षेत्रका रूपमा औंल्याउँदै उनले यातायात पूर्वाधार सुधार र सहज आवागमनले क्षेत्रीय व्यापार र मानवीय सम्पर्क विस्तार गर्न सक्ने उल्लेख गरे।

विज्ञहरूले नेपाल, भारत र बंगलादेशबीचको यस्तो आर्थिक एकीकरणले रोजगारी सिर्जना र क्षेत्रीय विकासमा नयाँ अवसर खोल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्