Skip to content

फिफा विश्वकप २०२६ः टर्कीविरुद्ध अष्ट्रेलियाको शानदार जित, इरानकुन्डा र मेटकाल्फे बने नायक

काठमाण्डौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। क्यानडाको भ्यान्कुभरमा सम्पन्न खेलमा अष्ट्रेलियाले प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

टर्कीले खेलभरि बलमा अधिक नियन्त्रण कायम राख्दै ७० प्रतिशतभन्दा बढी समय आफ्नो पकडमा राखे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। अष्ट्रेलियाका प्रशिक्षक टोनी पपोभिकले कप्तान तथा अनुभवी गोलकिपर म्याटी रायनको स्थानमा युवा गोलरक्षक प्याट्रिक बीचलाई मौका दिएका थिए, जसले आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निभाए।

प्याट्रिक बीचले टर्कीका नौवटा प्रहार बचाउँदै टोलीलाई क्लिन सिट दिलाए। खेलको २६औँ मिनेटमा अष्ट्रेलियाले काउन्टर अट्याकमार्फत अग्रता लिएको थियो। नेस्टोरी इरानकुन्डाले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै टर्कीका डिफेन्डरलाई छलाएर आकर्षक गोल गरे।

पहिलो हाफपछि टर्कीले बराबरी गोलका लागि निरन्तर दबाब सिर्जना गरे पनि अष्ट्रेलियाली रक्षापंक्ति र गोलकिपर बीच बाधक बने। खेलको ७४औँ मिनेटमा कोनर मेटकाल्फेले डि–बक्स बाहिरबाट शानदार प्रहार गर्दै दोस्रो गोल गरेपछि अष्ट्रेलियाको जित लगभग सुनिश्चित भएको थियो।

२४ वर्षपछि विश्वकपमा पुनरागमन गरेको टर्कीका लागि प्रतियोगिताको सुरुआत निराशाजनक रह्यो। यता, अष्ट्रेलियाले बलियो टोलीविरुद्ध प्रभावशाली जित निकाल्दै समूह चरणको यात्रामा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस्