काठमाण्डौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्। स्थानीय समयअनुसार आज अपराह्न बेइजिङस्थित विमानस्थलमा अवतरण गरेका मन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणको पहिलो दिन नै बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा समसामयिक विषयमा अन्तरक्रिया गर्नेछन्।
भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले चीन सरकारका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।
नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा उपलब्ध लगानीका सम्भावना र अवसरबारे विशेष छलफल गर्नेछन्।
उच्चस्तरीय राजनीतिक तथा आर्थिक भेटघाट सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्