Skip to content

परराष्ट्रमन्त्रीको दिल्ली भ्रमणमा सीमा मुद्दा नउठाइएको भन्दै राप्रपा सांसद खुस्बु ओलीको आपत्ति

काठमाण्डौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादलाई प्राथमिकतामा नराखिएको भन्दै कडा आपत्ति जनाएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा सम्बन्धी संवेदनशील विषय स्पष्ट रूपमा नउठाएको आरोप लगाइन्।

उनका अनुसार भ्रमणअघि मन्त्रीले पत्रकारहरूसँग यस विषयमा पछि बोल्ने बताएका भए पनि दिल्लीमा भएका औपचारिक वार्ताहरूमा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ। उनले नेपाल पक्षबाट जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिहरूमा समेत सीमा विषय उल्लेख नभएको भन्दै सरकारको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठाइन्।

सांसद ओलीले काठमाडौं फर्किएपछि सार्वजनिक गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै उल्लेख नभएको र पछि पत्रकारहरूको प्रश्नपछि मात्र मन्त्रीले प्रतिक्रिया दिनुपरेको बताइन्। उनले परराष्ट्रमन्त्रीले राष्ट्रिय महत्वको सीमा समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै कूटनीतिक पहल कमजोर देखिएको टिप्पणी गरिन्।

ओलीले संसद्मा बोल्दै सीमासम्बन्धी दीर्घकालीन समस्याको समाधानका लागि ठोस कूटनीतिक पहल आवश्यक भए पनि भ्रमणका क्रममा सामान्य प्रशासनिक विषयहरू मात्र उठाइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्