काठमाण्डौं ।
नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको जवाफमा गैरसंसदीय र धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पुनले बजेट तथा करका दरसम्बन्धी विषयमा आफ्नो दलले अर्थमन्त्रीलाई ‘शंकाको लाभ’ दिएको भए पनि उनले संसद्मा अभिव्यक्त गरेको शैली आपत्तिजनक रहेको दाबी गरे।
उनका अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक नीतिसम्बन्धी छलफलका क्रममा करका दरमा गरिएको हेरफेर स्वीकार गरे पनि त्यसलाई संसद्को रोस्ट्रमबाटै चुनौतीपूर्ण र धम्कीपूर्ण शैलीमा प्रस्तुत गरेको देखिएको छ। यस्तो व्यवहारले संसद् र संसदीय समितिको गरिमामा आँच पुगेको उनले बताए।
पुनले कार्यपालिका सदस्यहरू संसद्प्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने लोकतान्त्रिक अभ्यास रहेको उल्लेख गर्दै अर्थमन्त्रीको अभिव्यक्तिबारे सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने तथा आवश्यक परे संसदीय छानबिनसमेत अघि बढाइनुपर्ने माग गरे। उनले संसद्मा उठेका प्रश्नहरूलाई सामान्य राजनीतिक आरोपका रूपमा खारेज गर्न नहुने भन्दै ती जनसरोकारका विषय भएको जिकिर गरे।
त्यसैगरी, सांसद पुनले राष्ट्रिय स्वाधीनता र सीमा सम्बन्धी विषयमा सरकारका पछिल्ला अभिव्यक्तिहरूलाई लिएर पनि आपत्ति जनाए। उनले प्रधानमन्त्रीले संसद्मा दिएको भनिएको अभिव्यक्तिप्रति आलोचना गर्दै परराष्ट्र मन्त्रालयको स्पष्टीकरण अपर्याप्त रहेको टिप्पणी गरे।
पुनले संवेदनशील विषयमा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै सो अभिव्यक्ति संसद्को आधिकारिक अभिलेखबाट हटाउनुपर्ने आवश्यकता औंल्याए।
प्रतिक्रिया दिनुहोस्