Skip to content

गृहमन्त्रीमाथि पुनः नियुक्तिलाई लिएर कांग्रेसको कडा आपत्ति, सरकारको सुशासनप्रति प्रश्न

काठमाण्डौं ।

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले वर्तमान सरकारको कार्यशैली सुशासन, पारदर्शिता र उत्तरदायित्वको सिद्धान्तसँग मेल नखाने आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले गृहमन्त्रीको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिनु र त्यसैबीच सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइनु प्रश्नास्पद भएको बताए।

उनले छानबिन समितिलाई ‘छलछाम समिति’ को संज्ञा दिँदै प्रतिवेदनलाई गोप्य राखिएको तथा जनतासमक्ष नल्याइएकै अवस्थामा निर्णय प्रक्रिया अघि बढाइएको आरोप लगाए। खड्काका अनुसार, समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको चर्चा भए पनि त्यसलाई सार्वजनिक नगरिनु सरकारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने विषय हो।

सांसद खड्काले सरकारले सुशासन र सदाचारका नाममा भाषण गर्ने तर व्यवहारमा त्यसको ठीक विपरीत गतिविधि गर्ने गरेको आरोपसमेत लगाए। उनले विवादास्पद विषयमा छानबिन प्रक्रिया अघि बढाएर पनि निष्कर्ष लुकाइने र त्यसपछि सम्बन्धित व्यक्तिलाई नै पुनः जिम्मेवारी दिने प्रवृत्तिले सरकारको नियतमाथि शंका उत्पन्न भएको दाबी गरे।

उनले सरकारको कार्यशैलीलाई लक्षित गर्दै राज्य संयन्त्र आफैंले आफैंलाई जाँच्ने र पुरस्कृत गर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यास विपरीत रहेको टिप्पणी गरे। यस्तो अभ्यासले सुशासनको अवधारणामाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।

खड्काले सुशासन केवल भाषण र नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने भन्दै सरकारलाई जवाफदेही र पारदर्शी हुन आग्रह गरे। उनले संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सुशासन र न्यायलाई व्यवहारमा उतार्न जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्