काठमाण्डौं ।
अमेरिका र इरानबीच सम्भावित शान्ति तथा समझदारी सम्झौताका लागि कूटनीतिक गतिविधि तीव्र बनेका छन्। अमेरिकी सञ्चारमाध्यम एक्सिओसले रक्षा तथा कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी वायुसेनाका चारवटा ‘सी–१७’ मालवाहक विमान आवश्यक सुरक्षा तथा कूटनीतिक सामग्रीसहित स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेको जनाएको छ।
रिपोर्टअनुसार आगामी केही दिनभित्र अमेरिका र इरानबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने अनुमान गरिएको छ। सम्भावित समारोहका लागि आवश्यक तयारीस्वरूप विमानहरू युरोप पठाइएको बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, कूटनीतिक सल्लाहकार स्टिभ विटकफ तथा जारेड कुश्नर सम्मिलित टोलीलाई युरोप पठाउने योजना सार्वजनिक गरेका थिए। विमानहरूमा उच्चस्तरीय प्रतिनिधिमण्डलका लागि आवश्यक सुरक्षा सामग्री, सञ्चार उपकरण तथा अन्य व्यवस्थापकीय सामग्री रहेको जनाइएको छ।
एक्सिओसका अनुसार कतारको मध्यस्थतामा तेहरानमा भएको पछिल्लो वार्तापछि केही महत्वपूर्ण विवादित विषयमा प्रगति भएको छ। विदेशमा रोक्का गरिएका इरानी सम्पत्तिको व्यवस्थापन, स्ट्रेट अफ हर्मुज सञ्चालनसम्बन्धी विषय तथा सम्भावित युद्धविराम अवधिमा आणविक कार्यक्रमबारे हुने वार्ताका प्रारम्भिक ढाँचा तय भएको बताइएको छ।
मध्यस्थकर्ता पक्षका कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा सम्झौताको मस्यौदालाई इरानी नेतृत्वले सैद्धान्तिक स्वीकृति दिएको उल्लेख गरिएको छ। यद्यपि अन्तिम निर्णय र औपचारिक अनुमोदन प्रक्रिया अझै बाँकी रहेकाले हस्ताक्षरको मिति सार्वजनिक गरिएको छैन।
यसैबीच, ट्रम्प प्रशासनले कूटनीतिक पहललाई प्राथमिकता दिँदै सम्भावित सैन्य विकल्पलाई पछाडि सारेको संकेत गरेको छ। जेनेभातर्फ अमेरिकी सैन्य विमानहरूको प्रस्थानलाई पनि यही तयारीको एक हिस्सा मानिएको छ।
प्रतिक्रिया दिनुहोस्