Skip to content

विश्वकप २०२६ आजबाट सुरु हुँदै, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने

काठमाण्डौँ ।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा सह–आयोजक ःमेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल मेक्सिको सिटीस्थित ऐतिहासिक मेक्सिको सिटी रंगशालामा हुनेछ।

यस संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ। प्रतियोगितामा ४८ टोली सहभागी छन् भने कुल १०४ खेल खेलाइनेछन्। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिता १६ सहरमा सञ्चालन हुनेछ।

घरेलु समर्थकको साथ पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ। रोचक रूपमा, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति पनि हो। दक्षिण अफ्रिकामा आयोजित उक्त विश्वकपको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो।

मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेकाले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीहरूका लागि विशेष प्रेरणाको विषय भएको बताएका छन्। टोली एकताबद्ध रहेको र घरेलु समर्थकको साथले उत्कृष्ट प्रदर्शनमा मद्दत पुग्ने उनको विश्वास छ।

यता दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ को विजेता बन्दै विश्वकपमा पुगेको हो। प्रशिक्षक अगुइरेकाले मेक्सिको बलियो टोली भए पनि आफ्ना खेलाडीहरू अन्तिम मिनेटसम्म संघर्ष गर्न तयार रहेको बताएका छन्।

दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेनाले विश्वकप उद्घाटन खेल खेल्न पाउनु टोलीका लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन्। साथै, चोटका कारण केही समय मैदानबाहिर रहेका लेफ्ट–ब्याक अउब्रे मोडिबा पनि खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

भरिभराउ रंगशाला, विश्वभरका करोडौँ दर्शक र नयाँ इतिहास रचिने अपेक्षाबीच आजबाट विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुँदैछ। मेक्सिको घरेलु मैदानमा विजयी सुरुआतको खोजीमा रहनेछ भने दक्षिण अफ्रिका पहिलो खेलमै चकित पार्ने नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्