Skip to content

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाण्डौँ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेका छन्। मन्त्री पोखरेलको सचिवालयका अनुसार नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य तथा अनुभवी खेलाडी श्रेष्ठलाई राखेपको उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

श्रेष्ठले केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए। यससँगै मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना नयाँ बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।

मन्त्रालयले खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने लक्ष्यका साथ यी नियुक्तिहरू गरिएको जनाएको छ। साथै, नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, सुशासन, व्यवस्थापन तथा नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

खेलकुद क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई नेतृत्व तहमा ल्याउने सरकारको प्रयासस्वरूप गरिएको यस निर्णयलाई नेपाली खेलकुद प्रशासनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्